बुधबार, वैशाख १२, २०८१

भागरथी हत्या प्रकरणका आरोपितको चौथो पटक म्याद थप

नेपालखोज २०७७ फागुन १९ गते १९:५५

बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।

आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् ।

गएको माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो ।

अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधवार चौथो पटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यहीअनुसार अन्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको भएपनि सम्पन्न हुन सकेको छैन्’, उनले भने, ‘एक/दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ ।’ अहिले प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ ।

दिनेशको डीएनए परीक्षणका लागि काठमाण्डौ प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ । यसअघि भागरथीको पनि भेजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन ।

प्रतिक्रिया