सरकार र विप्लवबीच आज पनि वार्ता जारी, वार्तालाई निर्णायक बनाउने प्रयास

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच बिहीबार पनि पुनः वार्ता भइरहेको छ ।
सरकार र विप्लव समूहबीच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको हो । बुधबार दिनभर तीनपटक दुई टोलीबीच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको छ ।
बुधबार बेलुका दुई वार्ता टोलीबीच गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोक स्थित सरकारी निवासमा तेस्रो वार्ता भएको थियो ।
त्यसअघिका दुई वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए । दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताएका थिए । त्यहि विन्दुबाट अहिले वार्ता सुरु भएको बताइएको छ ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव समूहको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने छन् ।
सरकारले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपा समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया