बिहीबार, चैत १५, २०८०

दुरसञ्चार प्राधिकरणको २३औं वार्षिक उत्सव सम्पन्न, लोकेशन ट्रयाकिङ खोल्न सरकारलाई सिफारिस

लोकेशन ट्रयाकिङ सेवा खोल्न सरकारलाई सिफारिस गरिएको अध्यक्ष पुरुषोत्तम खनालद्वारा जानकारी

नेपालखोज २०७७ फागुन २० गते १५:५४

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको २३औं वार्षिक उत्सव सम्पन्न भएको छ । विहिबार काठमाडौंको कमलादीस्थित प्राधिकरणको प्राङ्गगणमा सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको मुख्य आथित्यमा वार्षिक उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा कोभिड–१९ ले सृजना गरेको असहज परिस्थितिमा दूरसञ्चार सेवा सञ्चालनमा सहयोग गर्ने श्रेणीविहिन ४ जना कर्मचारी(करार)लाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मान स्वरुप १०/१० हजार नगद र प्रसंशा पत्र प्रदान गरिएको छ ।

उत्कृष्ट कर्मचारी सेवा अन्तर्गत हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आएकोमा यस वर्ष प्राधिकरणका उपनिर्देशक सन्दिप अधिकारीलाई सम्मान गरिएको छ । साथै उपनिर्देशक अधिकारीको दुई ग्रेड पनि थप गरिएको छ ।

कार्यक्रममा बोल्दै सञ्चार मन्त्री गुरुङले आज वार्षिक उत्सव मात्रै नभइ प्राधिकरणलाई कुन गनतव्यमा लिने, कस्तो रोडम्याप बनाउने, कुन ऐन संशोधन गर्नेलगायतका विषयमा समिक्षा गर्ने दिन समेत रहेको बताएका छन् । उनले काठमाडौंका सडकहरुमा लथालिंग अवस्थामा रहेका तारहरुलगायत पुराना सामानहरु व्यवस्थापनमा प्राधिकरणको ध्यानार्कषण गराएका छन् । उनले यो समस्या आफ्नो कार्यकालको छोटो समयमा अनूभव गरेको कुरा रहेको जिकिर गरे ।

उनले अगाडि थपे, ‘नेपाल दुई ढुङ्गाबीचको तरुल भएर चेपिएर मात्रै बस्नु हुँदैन । प्राविधिक कुरामा छिमेकी मूलुकसँग प्रातिस्पर्धा गर्न सक्षम हुनुपर्छ । यसका लागि मन्त्रालय ‘ओपन’ छ । सरकारले सँधै सहयोग गर्छ ।’

अर्को एक प्रसंगमा बोल्दै उनले भने, ‘गाउँको कुनै गहिरो स्थानमा टावरले काम गरेन भने हामी भूगोललाई दोष दिन्छौं । तर प्राविधिक दोष देख्दैनौं । यो समस्याको बारेमा विज्ञहरुले गहिरो समिक्षा गर्न जरुरी छ ।’ त्यस्तै मन्त्री गुरुङले कोभिड संक्रमण फैलिएर सृजना भएको असहज परिस्थितिमा पनि प्राधिकरणले चुस्तदुरुस्त सेवा प्रवाह गरेको भन्दै धन्यवाद ज्ञापन पनि गरेका छन् ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले जिपिएस ट्रयाकिङ सर्भिस जस्ता नविनतम सेवाहरुलाई नियमित गर्दै जाने क्रममा लोकेशन ट्रयाकिङ सर्भिसलाई पनि अतिरिक्त दूरसञ्चार सेवाको रुपमा खुल्ला गर्न सरकारलाई सिफारिस गरिएको बताए ।

साथै, उनले कोभिड–१९ ले सृजना गरेको असहज परिस्थिति र विविध चुनौतीका वावजुत प्राधिकरणले यस वर्ष देशभर दूरसञ्चारको सेवाको पहुँच पुर्‍याउन तथा दूरसञ्चार सेवालाई नियमित, भरपर्दो र सर्वसुलभ बनाउन र कोभिडका कारण यसको विस्तारमा भएका कमी कमजोरीहरु हटाउन २०५३ सालमा लागु भएको दूरसञ्चार ऐनलाई समय सापेक्ष परिमार्जन गरि यसलाई थप नियमित र व्यवस्थित बनाउन सरकारको ध्यानार्कषण गराएका छन् । नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्चार सेवा प्रयोग गर्न पाउने गरि खुल्ला गर्ने तयारी प्राधिकरणले गरेको पनि उनले बताए ।

प्रतिक्रिया