बिहीबार, चैत १५, २०८०

विदेश जाने महिलालाई सिफारिस चाहिने कार्यविधि स्थगित

नेपालखोज २०७७ फागुन २२ गते ७:४८

काठमाडौं । भिजिट भिसामा विदेश जाँदा महिलाले परिवारको सहमति र स्थानीय तहको सिफारिस प्रस्तुत गर्नुपर्ने विवादास्पद प्रस्ताव स्थगित गरिएको छ । नयाँ कार्यविधि तत्कालका लागि स्थगन भएको गृह मन्त्रालय अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिए ।

भिजिट भिसामा मानव तस्करी नियन्त्रण गर्न भन्दै गृह मन्त्रालय अध्यागमन विभागले ४० वर्षमुनिका महिलाका हकमा खाडीलगायत देशमा जान परिवारको सहमति र सिफारिस चाहिने कार्यविधि ल्याएको थियो । त्यसले महिलाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने मौलिक अधिकारमाथि प्रहार भएको भन्दै व्यापक विरोध भएको थियो ।

महिलाले विरोधमा विभागअगाडि प्रदर्शनसमेत गरेका थिए । त्यसपछि विभागले कार्यविधि छलफलका क्रममा मात्र रहेको प्रस्टीकरण दिएको थियो । त्यसलाई अब स्थगित नै गरिएको विभागले जनाएको छ ।

विदेश घुम्न जाने सबैले भिजिट बिमा अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि रोकिएको छ । भिजिट भिसामा विदेश गई अलपत्र परेकाहरूको उपचार तथा उद्धारमा कठिनाइ हुने गृह मन्त्रालयले गठन गरेको एक छानबिन समितिको प्रतिवेदनका सुझाबका आधारमा कार्यविधि संशोधन अघि बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया