पाटनबाट ३६ वर्षअघि हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं । पाटनबाट ३६ वर्षअघि हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण)को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।
शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।
नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद दिँदै राजदूत खतिवडाले सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको प्रशंसा गरे ।
उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।
अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिंगाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
वासुदेव–कमलाजाको यो मूर्ति अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको थियो ।
१२औं शताब्दीमा बनाइएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो ।
मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने ललितपुर महानगरपालिकाले जनाएको छ ।
वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् ।
यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु–नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख छ ।
प्रतिक्रिया