विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिसष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लाई आफ्नो पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएक हुन् ।
उनले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए ।
‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनु भयो, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने, ‘उहाँ (विप्लव) अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु र यस्तै कार्यक्रममा उहाँलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको घोषणा गर्दछु ।’
अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै उनी अन्ततः नेकपामै आउनै पर्ने बताए । उनले विप्लव अलगिने दिन नै आफूले अब दोस्रो प्रचण्ड बन्न सम्भव नभएको बताएको स्मरण गर्दै आफ्नै बाटोमा आएकोमा धन्यवाद दिए ।
‘मैले उहाँलाई बुझेको छु, चिनेको छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ’, उनले भने, ‘जतिबेला उहाँ मबाट अलगिनु भयो त्यतिबेलै मैले एउटा दिन आउनेछ त्यहीबेला तपाईं हुनुहुनेछ भनेको थिएँ । मैले भनेको थिएँ अर्को प्रचण्ड अहिले हुँदैन, एउटा हुन्छ । एउटा कालखण्डमा एउटा हुन्छ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’
प्रतिक्रिया