सोमबार, असार ३०, २०८२

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप भोली नेपाल आउँदै

नेपालखोज २०७७ फागुन २२ गते २१:४७

काठमाडौं । कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार खोप भोली नेपाल ल्याइने भएको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले खोप भोली नेपाल आउने जानकारी दिए ।

सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए । उनले भोलीदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनले बताए । उनका अनुसार असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरे । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया