मंगलबार, मंसिर १८, २०८१

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक साता बन्द

नेपालखोज २०७७ फागुन २३ गते १०:१७

चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आज (आइतबार)देखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।

उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।

प्रतिक्रिया