शुक्रबार, वैशाख १४, २०८१

संसद् बैठकअघि नागरिक समाजले ‘लोकतन्त्र मार्च’ प्रदर्शन गर्ने

नेपालखोज २०७७ फागुन २३ गते १०:५९

काठमाडौं । नागरिक समाजको अगुवाहरुले आइतबार दिउँसो ‘लोकतन्त्र मार्च’ प्रदर्शन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आज बस्ने बैठकको ठीक एक घण्टा अघि अर्थात् तीन बजे काठमाडौंको माइतीघर मण्डलामा नागरिक समाजको अगुवाहरुले ‘लोकतन्त्र मार्च’ प्रदर्शन गर्न लागेका हुन् ।

“हिजो हामीले उनीहरू आफैं गर्लान् भनेर वास्ता गरेनौं । हामी नजागेसम्म उनीहरू आफैं केही नगर्ने रहेछन्, नागरिक सर्वोच्चताका लागि हाम्रो खबरदारी नित्य र निरन्तर । जागौं र जगाऔं !,” नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले ट्वीटरमा लेखेका छन् ।

त्यस्तै सर्वोच्चको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ ।
वाग्लेसहितका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटनको विरुद्धमा पनि दिनहुँजसो प्रदर्शन गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद् विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको थियो ।

सोही अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को अधिवेशन आह्वान गरेकी हुन् । संसद् बैठक दिउँसो ४ बजे बस्ने तयारी छ । बैठकका लागि सबै तयारी लगभग पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया