शुक्रबार, वैशाख १४, २०८१

ट्राफिक महाशाखाद्धारा राष्ट्रिय युवा परिषद्का २०० जना ट्राफिक स्वयमसेवक परिचालन

नेपालखोज २०७७ फागुन २३ गते १३:०८


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।


महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा बिभिन्न कलेजका दुुई सय जना बिद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरी काठमाडौँका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्रा क्रसिङमा परिचालन गरिनेछ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।


काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदल यात्रु भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपि भट्टराईले जानकारी दिए ।


एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परी मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रूको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी सहजता ल्याउने जानकारी दिए ।
उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।


स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ ।


यस अघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा बिद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई बिभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । कार्यक्रममा प्रहरी अधिकृतहरु, राष्ट्रिय युवा परिषद्का पदाधिकारी तथा अन्य ट्राफिक भोलेण्टरहरुको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थपपरिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया