शुक्रबार, जेठ ४, २०८१

मेडिकल रिपर्जेनटेटिभको राष्ट्रिय महाधिवेशन आजदेखि

नेपालखोज २०७९ चैत ३ गते ७:०५

काठमाडाैं । नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो । औषधि तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ (एमआर) भन्ने गरिन्छ ।

संघका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ इकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको दाहालले जानकारी दिए ।

दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ । महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनस्थल, आवास लगायतका तयारी पूरा भएको उहाँले जानकारी दिए ।

संघको तथ्याङ्क अनुसार देशभर ६ हजारभन्दा बढी सदस्य छन् । ती मध्येबाट प्रतिनिधि छनोट भएर आउने हुन् । नेपालमा १५० भन्दा बढी विदेशी र ९५ नेपाली औषधि कम्पनीका प्रतिनिधि कार्यरत छन् ।

प्रतिक्रिया