बैंक तथा वित्तिय संस्था परिसंघको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार बसेको साधारण सभा बैठकले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
जसको अध्यक्षमा पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, सह कोषाध्यक्षमा मनोजकुमार केडीया चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा पृथ्वीबहादुर पाण्डे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्र केशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिसाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।अधिवक्ता बालकृष्ण ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै, अध्यक्ष गोल्यानले नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौं साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागि पर्ने विषयमा जोड दिएका छन् ।
राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने उनको धारणा छ ।
महासचिव केशवबहादुर रायमाझीले संचालन गरेको उक्त कार्यक्रमको समापन गर्दै संस्थाका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिविफिनलाई नयाँ उचाइमा पुर्याउनका लागि कार्यसमितिले अबलम्वन गर्ने कार्यदिशा र रणनीतिका वारेमा प्रकाश पारे । साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर र नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरुको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया