सुरक्षा निकायमा रहेको श्रीमती संघ दासीहरुको संगठन : पम्फा भुसाल

नेपालखोज २०७७ फागुन २४ गते ११:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सैनिक, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीका नाममा सञ्चालनमा रहेका श्रीमती संघहरु खारेजी गर्नुपर्ने बताएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघ दासीहरुको संगठन रहेको आरोप लगाएकी छन् ।

निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलाले दासी बनाउनका लागि श्रीमती संघ खोलेको र यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने उनको भनाई छ ।

श्रीमानले जागिर खाएको आधारमा श्रीमतीले सुविधा लिने, परिवारका सदस्यले सुविधा लिने व्यवस्थालाई गणतन्त्रले अन्त्य गरेको भएपनि सैनिक, प्रहरी, सशस्त्र र कर्मचारीमा यो व्यवस्था कायम रहेको उनको भनाइ थियो ।

यी संस्थाहरु हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तावादी सोचमा बनेका संस्थाहरु भएको भन्दै भुसालले यी सामन्ति पितृसत्तावादी संस्थाको खारेज गर्न माग गरेकी हुन् ।

प्रतिक्रिया