बिहीबार, वैशाख १३, २०८१

भीम रावललाई ओलीको जवाफ–कुन पार्टीको प्रधानमन्त्री हो भन्ने सोध्न सर्वोच्च जानुस्

नेपालखोज २०७७ फागुन २४ गते १५:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेतालाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै आइतबारदेखि सुरु भएको संसद् बैठकमा प्रचण्ड–नेपाल समूहका सांसद् भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए ।

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन् ।

‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन,’ प्रधानमन्त्री ओलीले रावललाई जवाफ दिँदै भने– ‘मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।’

सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

आइतबारको संसद् बैठक प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । त्यसपछि संसद्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया