बिहीबार, मंसिर २७, २०८१

कर्णाली नदीमा बेपत्ता थप दुई जनाको शव फेला, ५ वर्षीया रजनी अझै बेपत्ता

नेपालखोज २०७७ फागुन २५ गते १४:००

काठमाडौं । कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एकै परिवारका पाँच जनामध्ये ४ जनाको शव फेला परेको छ भने एक जना अझै वेपत्ता छन् ।

सोमबार दिउँसो तीन छोरी र एक छोरासहित कर्णालीमा हामफालेर बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा मंगलबार मध्याह्न १२ बजेतिर फेला परेको हो ।

१६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो ।

५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।

प्रतिक्रिया