आइतबार, जेठ ६, २०८१

चीनमा चर्चित एउटा सिरियल…

नेपालखोज २०७८ माघ २१ गते १३:३२

काठमाडौं । चीनको सरकारी टेलिभिजन च्यानलमा देखाइएको एउटा सिरिजले त्यहाँ निकै ठूलो चर्चा पायो । उक्त सिरिजमा भ्रष्टाचारका आरोपी सरकारी अधिकारीहरुको स्वीकारोक्ति प्रसारण गरिएको थियो जसमा उनीहरु कसरी लाखौं-करोडौं रुपैयाँ घूस लिन्छन् भन्ने कुरा आफ्नै मुखले बताउँछन् ।

चीनको राजधानी बेइजिङको एउटा आलीसान बंगलो । माछासहितका अनेकौं सी-फुडको बक्सामा लुकाएर राखिएको लाखौं-करोडौं डलर । यस्तै दृश्य हुन्छन् चीनको सरकारी च्यानल सीसीटीभीद्वारा प्रसारित यो टीभी सिरिजमा । पाँच भागमा विभाजित यो सिरिजमा भ्रष्टाचारको अभियुक्त बनाइएका सरकारी अधिकारिहरुको कथित बयान देखाइएको थियो । यो सिरिज चिनियाँ सरकारद्वारा चलाइएको भ्रष्टाचारविरोधी अभियानकै एउटा भाग हो र अहिले चीनमा यो सिरिज निकै चर्चित छ ।

१० लाखभन्दा बढीले पाए सजाय
चीनका राष्ट्रपति सी जिनपिङले केही वर्षयता भ्रष्टाचारविरुद्ध ठूलो अभियान चलाइरहेका छन् । अभियानअन्तर्गत कम्युनिस्ट पार्टीसँग जोडिएका कैयन् नेता-कार्यकर्तासमेत गिरफ्तारीमा परेका छन् । एक जानकारीअनुसार, सीको कार्यकालमा अहिलेसम्म भ्रष्टाचारको आरोपअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुले सजाय पाइसकेका छन् । आलोचकहरुका अनुसार यो भ्रष्टाचारविरोधी अभियानलाई २०१३ मा सत्तामा आएका जिनपिङले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी तथा आलोचकहरुलाई सिध्याउने हतियार पनि बनाएका छन् ।

पूर्वमन्त्रीको स्वीकारोक्ति
टीभी सिरिजमा देखाइएका आरोपी अधिकारीहरुको कथित स्वीकारोक्तिमा एकजना पूर्व जनसुरक्षामन्त्री सन लिजुन पनि सामेल छन् । हङकङमा भएको विरोध प्रदर्शन तथा लोकतन्त्र समर्थक अभियानका क्रममा त्यहाँको सुरक्षाको जिम्मा सन लिजुनकै मातहत थियो । लिजुनविरुद्ध अनेकौं आरोप छन् जसमा घूसखोरी, स्टक मार्केटमा गडबडी, अवैध हतियार राखेक‍ोदेखि लिएर पैसा दिएर सेक्स किनेको आरोपसमेत छ ।

सीसीटीभीमा देखाइएको सिरिजअनुसार, सन लिजुनले करिब १.४ करोड डलर घूस खाएका छन् । सिरिजमा देखाइएअनुसार उनलाई सी-फुडका स-साना बक्सामा लुकाएर घूस पुर्याइन्थ्यो । आरोपअनुसार यसरी उनका लागि घूस संकलन गर्ने व्यक्तिलाई लिजुनले पूर्वी ज्याङसु प्रान्तको पुलिस चिफसमेत बनाए । सिरिजको एउटा एपिसोडमा लिजुन भन्छन्, ‘मैले उसलाई मद्दत गरें ।’

पहिले पनि देखाइन्थ्यो यस्तो कार्यक्रम
सीसीटीभीमा कथित भ्रष्टाचारीहरुको स्वीकारोक्तिमा प्रसारित भएको य‍ो पहिलो घटना भने होइन । पहिले पनि आरोपित व्यक्तिलाई अदालतमा प्रस्तुत गर्नुअघि नै सीसीटीभीमा उनीहरुको बयान देखाइन्थ्यो । ती बयानमा आरोपितहरुले आफूमाथि लागेको आरोप स्वीकार गरेको देखाइन्छ । मानवअधिकार संगठनहरुले भने यस्तो प्रक्रियाको निन्दा गर्दै आएका छन् ।

उक्त सिरिजको एक एपिसोडमा ‘चाइना एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजी’ का चेङ गोङको बयान पनि देखाइएको थिय‍ो जो अहिले जेलमा छन् । उनीविरुद्ध गलत तरिकाले पैसा कमाएको आरोप छ । भनिन्छ उनले भ्रष्टाचारको रकमले ७२ हजार वर्गमिटरमा फैलिएको एक आलिसान घर निर्माण गरेका थिए जसमा स्विमिङ पुलका साथै कृत्रिम समुद्र तट पनि थियो । यो ताजा सिरिजमा भ्रष्टाचारका अरु थुप्रै आरोपी तथा सरकारी अधिकारीहरु पनि देखिन्छन् ।

मृत्युदण्डको सजाय
सिरिजमा देखाइएका आरोपीहरुमध्ये आरोप साबित भएकाहरुको सारा सम्पत्ति जफत गरिएको छ । उनीहरुको कम्युनिस्ट पार्टीको सदस्यतासमेत खोसिएको छ । यस्ता भ्रष्टाचारीहरुले अब आजीवन जेलमा बस्नुपर्ने बताइन्छ । यीमध्ये केहीले मृत्युदण्डसमेत पाउनेछन् । यो सिरिजक‍ो दोस्रो एपिसोडमा वाङ फुयु नामका एक सरकारी अधिकारीको स्वीकारोक्तिमा प्रशारण गरिएको थियो । उक्त एपिसोड अनइयर भएको भोलिपल्टै फुयुलाई मृत्युदण्डको सजाय सुनाइयो ।

दर्शकको प्रतिक्रिया
चीनमा यो कार्यक्रम करोडौं दर्शकले हेरेको बताइन्छ । चीनको सोसल मिडियामा पनि यो सिरिजको निकै ठूलो चर्चा छ । लाखौं मानिसले सोसल मिडियामा यो सिरिजको समीक्षा गरेका छन् । जसमा धेरैजसोले भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । एक आरोपी अधिकारीको बयानमा प्रतिक्रिया व्यक्त गर्दा एक दर्शकले लेखेका छन्, ‘उसलाई हेर्दा यस्तो लाग्दैनथ्यो कि उसलाई आफ्नो काममा कुनै लाज वा पश्चाताप छ । ऊ त आलिसान जिन्दगी बाँचिरहेको थियो ।’ केही दर्शकले के आशंका जनाएका छन् भने आरोपीहरुको किस्सा देखाउने क्रममा यति धेरै धन र उनीहरुको आलिसान बंगला देखाउँदा कतिपय मानिस भ्रष्टाचारतर्फ आकर्षित हुनसक्छन् ।
-एएफपी

प्रतिक्रिया