मुस्लिम आयोगको विशेष वक्ताको रुपमा मुस्कान खातुन

नेपालखोज २०७७ फागुन २६ गते १७:१२

काठमाडौं । मुस्कान खातुनलाई नेपाल मुस्लिम आयोगले आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।

अब आयोगले आयोजना गर्ने हरेक प्रकारका औपचारिक कार्यक्रममा मुस्कान विशेष वक्ताको रुपमा प्रस्तुत हुने भएकी छन् । बुधबार आयोग कार्यालयमा एसिड पीडित मुस्कानलाई अध्यक्ष समिम मिँया अन्सारीले सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकाले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकाले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै मुस्कानले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताए । एसिडविरुद्ध जनचेतना जगाउने काममा सधैं लाग्ने समेत उनले बताए ।

यसअघि मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित भएकी थिइन् । एसिड आक्रमबाट पीडित मुस्कानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरेको थियो ।

१५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरेका थिए । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

प्रतिक्रिया