वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा हुँदैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताए । उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि, सङ्घीय गणतन्त्रको रक्षाका लागि, सङ्घीयता पक्षधर शक्तिसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दालाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ, त्यस्ता शक्तिसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँच गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेशरथारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल केपी ओली समक्ष पटक–पटक राखिएको भए पनि ओलीले झुलाएको बताए। आफ्नो माग जसले पूरा गर्छ उसैलाई समर्थन गर्ने नेता महतोको भनाइ छ ।
उनले भने, ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरि गर्ने ? त्यसैका लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरूलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? माग पूरा गरे हुन्छ नत्र हुँदैन । हामीले भन्दै आएका माग जसले पूरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो ।
रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेशरथारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल आजको होइन नि, यो त पटक–पटक राखेकै हो नि, केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्नेबाहेक केही काम गरेका छन् केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्यो नि ।’
जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो मुद्दाबारेमा सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताए । नेकपा (एमाले) सँग सत्ता समीकरणबारे छलफल गर्न कार्यदल नबनेको उनको जिकिर छ । उनले भने, ‘हामीले सरकारको चर्चा गरेको छैन अहिले । कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेको छैन ।’

प्रतिक्रिया