रुसले ट्विटरको गति कम गर्यो

एजेन्सी । रुसमा मिडियामाथि निगरानी गर्ने संस्थाले सामाजिक सञ्जाल ट्विटरको गति कम गरिएको जनाएको छ । रुसले प्रतिबन्ध लगाएको सामग्री आफ्नो वेबसाइटबाट नहटाएको भन्दै अमेरिकी कम्पनी ट्विटरको गति कम गरिएको बताइएको छ ।
रुसको यस संस्थाको आरोप छ, ‘ट्विटरबाट झण्डै तीन हजार पोस्ट्स हटाउन भनिएको थियो, जसमा लागुऔषध पोर्नोग्राफीसँग सम्बन्धित सामग्री छन् तर कम्पनीले यस्तो गरेन ।’
संस्थाका अनुसार रुसका नागरिकको हितको रक्षाका लागि यो कारबाही गरिएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीहरूले ट्विटर निकै उपयोग गर्दै आएको बताइएको छ ।
पुटिनका विरोधीहरु र व्यापक रुपमा ट्विटरको प्रयोग गर्नेहरुले भनेका छन्, ‘कारबाहीपछि हामीहरुलाई ट्विटरको वेबसाइटमा फोटो र भिडियो देख्न कठिन भइरहेको छ ।’
त्यस्तै, ट्विटरले रुसी संस्थाको कारबाहीबाट आफू गम्भीर चिन्तित भएको जनाएको छ । रुसी संस्थाका अधिकारीहरुले यसबारेमा जानकारी दिँदै भनेका छन्, ‘रुसमा सबै मोबाइल उपकरणमा ट्विटरको गति घटाइएको हो र झण्डै आधा डेस्कटप उपकरणमा ट्विटरको गति कम गरिएको हो ।’
ट्विटर रुसमा छैटौँ सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट हो । एलेक्सी नभेल्नीसहित अन्य विपक्षी नेताले यसको व्यापक उपयोग गर्दै आएका छन् ।
प्रतिक्रिया