यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त

नेपालखोज २०७७ फागुन २७ गते २०:३९

काठमाडौं । महिला अधिकृतलाई यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सहायक रथी संगठनभित्रकै महिला अधिकृतसँग यौन दुर्व्यवहार गरेपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीलाई बर्खास्ती गरिएको छ ।

सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कार्कीलाई नेपाली सेनाले एक साता अघि बर्खास्ती गरेको हो ।

यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।

कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।
कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनसाय देखिएको बताइएको छ ।

प्रतिक्रिया