बुधबार, वैशाख १२, २०८१

शुक्रबार सरकार र जसपाबीच निर्णायक वार्ता हुने

नेपालखोज २०७७ फागुन २८ गते ११:५०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयमा आज निर्णायक वार्ता हुने भएको छ । ओली नेतृत्वको नेकपा एमालेको सरकारसँग सहकार्य गर्ने नगर्ने भन्ने विषयमा निर्णायक वार्ता हुनलागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे दुईदलका नेताबीच वार्ता हुने बताइएको छ ।

विहीबार भएको वार्तामा जसपाको तीन बुँदे शर्तप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका थिए । जसपाले आफ्ना कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका जसपाका नेता लक्ष्मणलाल कर्णले बताएका छन् ।

विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

विहीबार बसेको बैठकमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सरकार निरन्तरताको लागि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक हुन्छ ।

संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली रहेका छन् ।

जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टीकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ ।

प्रतिक्रिया