बिहीबार, चैत १५, २०८०

कान्छो धौलागिरि, जहाँ फरफराउछ नौ राष्ट्रका झण्डा

नेपालखोज २०७७ फागुन २८ गते १२:४५

बलेवा । ‘कान्छो धौलागिरि’ दारेगौँडा पहाडमा नौ देशका राष्ट्रिय झण्डा फहराइएको छ । बागलुङ, काठेखोला गाउँपालिका–२ भीमापोखरा, डोहेरी गाउँ नजीकैको सो पहाडमा पुग्ने स्वदेशी तथा विदेशीलाई आफ्नोपनको महसुस गराउने उद्देश्यले सार्कमुलुकसहित नौ देशका झण्डा फहराइएको हो ।

सोको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि स्थानीय युवाले समूह बनाएका छन् । युवाको सक्रियतामा पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र स्थापना भएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि राष्ट्रिय झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए । झण्डोत्तलनपछि अब सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षणमा पर्नेछ ।

छोटो पर्यटक पदमार्गमार्फत पुग्न सकिने र प्रकृतिसँग मज्जा लुट्न सकिने सो ठाउँमा पुग्न सार्वजनिक बिदा र छोटो फुर्सदको समय छुट्याए मात्रै पुग्छ । केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीका अनुसार हिमालका आँगनमा बसेर मकै, भटमास खानेलाई सो ठाउँ स्वर्ग जस्तो लाग्छ ।

पहाड नजीकै सानो सुन्दर बस्ती छ । त्यही सुन्दर बस्तीमाथि सेताम्य हिमशृङ्खला हेर्न सकिने मनमोहक डाँडा दारेगौंडा छ । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको सो डाँडा समुद्री सतहदेखि करीब दुई हजार ५०० मिटर अग्लाइमा छ । कान्छो धौलागिरिबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाको चाप पनि बढ्दैछ । उच्च भागमा रहेको समथर भाग आफैँमा सुन्दर त छ नै, त्यसमाथि त्यहाँबाट देखिने करीब ११ जिल्लाका भूभाग अनि साविक धौलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुश्मा बजारको मनमोहहक दृष्य देखिन्छ । आँखै अगाडि देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छे, मानापाथीलगायत दर्जन हिमशृङ्खलाको त्यहाँबाट सजिलै अवलोकन गर्ने सकिन्छ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि पहाडले तान्छ । हिम पहाडका लागि अत्युत्तम स्थान भएकाले नै दारेगौंडालाई अहिलेका युवाले कान्छो धौलागिरिको उपमा दिएका हुन् ।

उनीहरुका अनुसार दारेगौंडालाई अब कान्छो धौलागिरिका नामबाट संसारभर चिनाइने तयारी थालिएको छ । जङ्गलका चराचुरुङ्गीको आवाज सुन्दै हिमशृङ्खलाको आँगनमा रमाउन चाहने पर्यटकको रोजाइमा यो ठाउँ पर्ने छ । प्राकृतिक छटाले परिपूर्ण सो क्षेत्र पर्यटन विकासमा पर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालिसकेको छ ।

पर्यटनको प्रचूर सम्भावना बोकेको सो क्षेत्रको प्रचारप्रसार तथा पर्यटक आकर्षण गर्न स्थानीय पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र लागिपरेको छ । यही क्लबले महाशिवरात्रिका अवसरमा सार्क राष्ट्रसहित नौ देशको झण्डा फहराएको छ । वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ, बङ्गलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिए ।

बागलुङ सदरमुकामदेखि करीब २६ किलोमिटर सडक यातायातपछि करीब एक घण्टाको पैदल यात्रामार्फत कान्छो धौलागिरि पुग्न सकिन्छ । डोहेरी बस्तीसम्म कच्ची सडकले जोडिएको हुँदा जङ्गल क्षेत्रमा पर्यटन पदमार्गबाट पुग्न सकिन्छ । यहाँ व्यवस्थित पदमार्ग निर्माण गरेर म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यका रुपमा विकास गर्न सबै जुट्नुपर्ने स्थानीयवासीको माग छ । “यो कान्छो धौलागिरि नयाँ पर्यटन गन्तव्य हो, चिसो हावापानीमा अर्गानिक उत्पादनको स्वाद लिएर हिमशृङ्खलाको अवलोकन गर्न योभन्दा अर्को उपयुक्त क्षेत्र पहिचान हुन मुश्किल छ”, निवर्तमान अध्यक्ष केसीले भने । (रासस)

प्रतिक्रिया