शुक्रबार, वैशाख १४, २०८१

नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याउँदै

नेपालखोज २०७७ फागुन २८ गते १३:०७

काठमाडौं । नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याउने भएको छ । नेपाल–चीनको नाका तातोपानी हुँदै चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा मल आइसकेको तातोपानी नाकाका अधिकृत बुद्ध चन्द्रले बताए ।

उनका अनुसार चीनको सिगात्सेमा संकलन गरी राखिएको मल आइतबारदेखि नेपाल आउन लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क मार्केटसँग ढुवानीको सम्झौता गरी मल नेपाल ल्याउन लागेको हो । चीनबाट साल्ट ट्रेडिङ कर्पोरेसनले चार हजार मेट्रिक टन मल ल्याउँदै छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक पंकज जोशीले शुक्रबारसम्म दुई हजार मेट्रिक टन मल नेपाल आइपुग्ने बताए । चीनबाट पहिला पनि मल आउँथ्यो तर त्यो भारतको बाटो भएर आउने गर्थ्यो । तर, अब सीधै नेपाल–चीन नाकाबाट आउने भएकाले समयको बचत हुने साल्ट ट्रेडिङका बृजेश झाले बताए ।

त्यहाँबाट आउने युरिया मलमध्ये १२ सय मेट्रिक टन काभ्रेको बनेपा, आठ सय मेट्रिक टन नुवाकोट र अरू बाँकी काठमाडौं गोदाममा राखिने उनले जानकारी दिए । चीनबाट प्रतिमेट्रिक टन ३८९.९० अमेरिकी डलमा सो चार हजार मेट्रिक टन मल खरिद गरिएको हो ।

त्यस्तै बंगलादेशबाट जीटुजी सम्झौतामार्फत २२ हजार पाँच सय मेट्रिक टन मल नेपाल आइसकेको छ । भारतसँग पनि ममल खरिदका लागि जीटुजी सम्झौता गर्ने प्रक्रियामा छ ।

चालू आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य सरकारले लिएको छ । कृषि मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन मल भण्डार गरी राखिएको छ ।

प्रतिक्रिया