शुक्रबार, चैत १६, २०८०

अलिबाबामाथि एक अर्ब डलर जरिबाना गर्ने चीनको तयारी

नेपालखोज २०७७ फागुन २८ गते १४:२९

एजेन्सी । चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिबाना गर्न लागेको समाचार सार्वजनिक भएको छ ।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिबाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिबाना तिरेको थियो ।क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीवार अलिबाबामाथिको जरिबानासम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले यसबारेमा केही बताउन चाहेनन् ।

चीनको सबैभन्दा ठूलो अनलाइन शपिङ पोर्टलका रूपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरूले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

तर अलिबाबाका संस्थापक ज्याक माले गएको वर्षको अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरूको आँखाका तारो बनेका छन् ।

गएको नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरूले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ुएन्ट ग्रुपु ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निष्कासन (आईपीओ) लाई रोकिदिएका थिए । त्यसको एक महिनापछि अधिकारीहरूले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान सुरु गरे । त्यही समय स्वयं ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रूपमा कतै देखा पर्नु भएन ।

चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गएको महिना राज्य प्रशासनका अधिकारीहरूलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो ।जर्नलका अनुसार अनुसन्धान अधिकारीहरूले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छरछैन भन्ने खोजी गरिरहेका छन् । अलिबाबाका प्रवक्ताले यस घटनाका बारेमा पनि केही बताउन चाहेनन् ।

अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरूलाई अन्य प्रतिस्पर्धी ई–कमर्स कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ ।

प्रतिक्रिया