शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंको लप्सेफेदीमा २ दिने सहकारी पत्रकारिता तालिम सुरु

नेपालखोज २०७७ फागुन २८ गते १६:५८

काठमाडौं । काठमाडौंको लप्सेफेदीमा २ दिने सहकारी पत्रकारिता तालिम सुरु भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दैै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी र सञ्चार एक अर्काको पुरक रहेको बताए । अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सञ्चार र सहकारीको सहकार्य हुन अपरिहार्य भइसकेको उनले बताए । तालिमले सहकारीको गुणात्मक र स्तरीय समाचार सम्पे्रषणमा सघाउ पुग्ने अध्यक्ष कँडेलले बताए ।

सहकारी सिष्टममा नचल्दा समस्याग्रस्त हुने गरेको उनको भनाइ छ । सहकारी सिष्टममा चल्न सके मात्र सहकारीबाट आर्थिक रुपान्तरण संभव हुने बताए । सहकारीले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पुर्‍याएको उनले बताए । ऐनले उत्पादन र बजारीकरणमा सहकारी क्रमश जोडिदै गएको उनको भनाइ छ । देशभकार ५ सय भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उनले बताए ।

सहकारी विभागको पछिल्लो तथ्यांक अनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्यांक सार्वजनिक गरिए पनि १ लाख भन्दा बढीले रोजगारी पाएको हुन सक्ने अध्यक्ष कँडेलको भनाइ छ । सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उनले बताए । ऐनले उत्पादन, बजारीकरण लगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको बताए । अध्यक्ष कँडेलले सहकारीले विशिष्टकृत सहकारी संघमार्फत कृषि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी संघ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता र न्यू मिडियामा बसन्त बस्नेत, मेमोरी पावर र मेटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिने छन् ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सुरु भएको तालिममा निवर्तनमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सिजेएनले सरोकारवाला निकायको सहकार्यमा पत्रकारिता तालिम, अध्ययन, अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया