मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्त्रीबाट हटाएर देखाउन ओलीको विपक्षीलाई चुनौती

नेपालखोज २०७७ फागुन २९ गते १८:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिए । कसैले हटाए पनि नेकपा (एमाले) बीस महिनापछि दुई तिहाई बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ ।

‘लगभग दुईतिहाइ लिएर सिंहदरबार पस्छौँ, २० महिना पछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस्, उनले भने, ‘बिस महिना पछि फेरि यो पार्टी,सूर्य चिन्हधारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान पनि गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए।

‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे ।’ उनले भने, ‘प्रसस्त समय रहोस् भनेर चैत ७ गतेलाई बैठक बोलाएको छु । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ ।’

प्रतिक्रिया