शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नेपालखोज २०७९ असोज ११ गते १८:००

बैतडी । दशैंँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी तथा देवताका मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलन रहेकोले शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ ।

सुदूरपश्चिममा दशैंँको बेला खानपिन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । सुदूरपश्चिममा मनाइने दशैंँ सात्विक हिसाबले मनाइने गरेको छ । उनले भने,’याे बेला शक्तिकी अधिष्ठात्रीदेवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ । मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्व सात्विक हिसाबले मनाउने चलन रहेको छ ।’

नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपिठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रीको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, डिलाशैनी भगवती लगायतका मन्दिरमा जाग्राम बस्नेको भीड लागेको छ ।

सुदूरपश्चिममा दशैंँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौ महिनामा गौरीका पूजा गरेजस्तै आश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुले नवरात्रको दश दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । आज सामूहिक रुपमा मन्दिरमा जमरा समेत राख्ने चलन रहेको छ । दशैंँ पारिवारिक मिलनको पर्व भएकोले बसाइँसराइ गरेर गएका अन्यत्र गएकासमेत गाउँ फर्कने गर्दछन् । – रासस

प्रतिक्रिया