नेकपा एमाले नेपाल- खनाल समूहद्वारा राष्ट्रिय कार्यकर्ता भेला आव्हान

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिवार) बसेको अनौपचारिक बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाउने निर्णय गरिएको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायतलाई बोलाइएको छ ।
त्यस्तै नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ । बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाल तोकिएको छ ।
त्यस्तै बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई तोकेको छ । उनलाई महिला विभागको जिम्मेवारी समेत दिइएको छ । साथै बैठकले गण्डकी प्रदेशको इन्चार्ज सुरेन्द्र पाण्डेलाई तोकेको छ । युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ ।
त्यस्तै बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र योगेश भट्टराईलाई प्रचारप्रसार विभागको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया