बुधबार, वैशाख १२, २०८१

महालक्ष्मी साहित्य पुरस्कार–२०७७ डा.नवराज लम्साललाई

नेपालखोज २०७७ चैत १ गते ८:५०

काठमााडौं । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा.नवराज लम्साललाई प्रदान गरिएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंडामा आयोजित कार्यक्रममा डा. लम्साललाई प्रदान गरियो ।

उच्च अदालत पाटन इजलास हेटौंडाका  न्यायाधीश शेषराज शिवाकोटीले  उनलाई पुरस्कृत गर्नुभयो  । धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौँमा रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

रेडियो नेपालका समाचार प्रमुख डा.लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र  धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित  छन् ।

गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु  ५१ हजार बनाइएको हो ।

सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई  दिइएको छ ।

कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रिया