बिहीबार, असार १९, २०८२

माओवादी केन्द्रीय कमिटी बैठक : गृहमन्त्रीसहितका मन्त्रीलाई कारबाहीको प्रस्ताव पेश

नेपालखोज २०७७ चैत १ गते १३:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरुलाई कारबाही गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्याललय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने गृहमन्त्री बादलसहितका नेताहरुलाई कारबाही गर्नुपर्ने प्रस्ताव पेश भएको छ ।

बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको काबारहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको बताइएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीतिर लागेका नेताहरुलाई २५ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको थियो ।

स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । सोही अनुसार प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

गृहमन्त्री बादलसहित उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको थियो ।

प्रतिक्रिया