आठ महिनामा साढे २२ प्रतिशत मात्रै विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा पाँच अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ ।
साउनदेखि फागुनसम्म पाँच अर्ब ३० करोड रुपैयाँ मात्रै वैदेशिक सहायता प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो कुल लक्ष्यको जम्मा आठ दशमलव ७७ प्रतिशत मात्रै यो । बजेटमार्फत सरकारले यस वर्षका लागि ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक सहायताको लक्ष्य राखेको थियो । यद्यपि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत वैदेशिक सहायताको लक्ष्य घटाएर ३५ अर्ब रुपैयाँमा झारेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पाँच खर्ब ७१ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म पाँच खर्ब ७१ अर्ब २० करोड अर्थात् कुल लक्ष्यको ५६ दशमलव ४६ प्रतिशत राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
विकास खर्च जम्मा साढे २२ प्रतिशत मात्रै
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा साढे २२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।
सरकारी आय–व्ययको लेखाजोखा राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म जम्मा २२ दशमलव ५८ प्रतिशत अर्थात् ७९ अर्ब ६९ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । बजेट भाषणमा सरकारले यो वर्षका लागि तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्चको लक्ष्य राखेकोमा अर्धवार्षिक समीक्षामार्फत दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँमा झारिएको छ ।
यस्तै नौ खर्ब ८९ अर्ब चालु खर्चमध्ये आठ महिनामा चार खर्ब ५५ अर्ब ८१ करोड अर्थात् ४८ दशमलव तीन प्रतिशत खर्च भएको छ । तर अर्धवार्षिक समीक्षामार्फत नौ खर्ब १४ अर्ब रुपैयाँ चालु खर्चको लक्ष्य रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ खर्चको लक्ष्य रहेकोमा आठ महिनामा ३५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । समग्रमा आठ महिनामा ३८ दशमलव ७२ प्रतिशत खर्च भएको छ ।
यस वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर अर्थ मन्त्रालयले अर्धवार्षिक समिक्षा मार्फत १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमा झारेको छ ।
प्रतिक्रिया