ओलीले एक पक्षीय रुपमा गरेको निर्णय नमान्न निर्वाचन आयोगलाई खनाल-नेपाल समूहको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल खेमाले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
आयोगमा १०३४ नम्बरमा दर्ता भएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टी विभिन्न कमिटीका बैठकहरुको आयोजना हुनुपर्ने भएकाले बैठक नै नबोलाइ गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख छ ।
‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा (एमाले) यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफुलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ, पत्रमा भनिएको छ ।’
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिनु भन्दै खनाल-नेपाल समूहले पत्र बुझाएको हो । दुईपाने पत्रमा स्थायी कमिटीका ११ सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया