बिहीबार, चैत १५, २०८०

अझै लयमा फर्किएन पोखराको पर्यटन

नेपालखोज २०७७ चैत २ गते ५:३५

पोखरा । मुलुकको दोस्रो पर्यटकीय नगर पोखराको पर्यटन व्यवसाय अझै लयमा फर्किन सकेको छैन । तुलनात्मक रूपमा कोरोना महामारी कम हुँदै गए पनि विदेशी पर्यटक नै आउन नसकेपछि पोखराको पर्यटन क्षेत्रले गति लिन नसकेको हो ।

पोखरामा अहिले आन्तरिक पर्यटकको चहलपहल केही बढेको देखिए पनि विदेशी पर्यटक आउन सकेका छैनन्, जसको प्रभाव पोखराका सानाठूला सबै किसिमको पर्यटन व्यवसायमा परेको छ । विशेषगरी बाह्य पर्यटकलाई नै लक्षित गरेर खोलिएका होटेल, रेस्टुराँ, ट्राभल एजेन्सीदेखि नेपाली उत्पादनका लत्ताकपडा र हस्तकला व्यवसायमा पर्यटक अभावले बढी असर पारेको छ ।

सांग्रिला भिलेज पोखराका आवासीय व्यवस्थापक गुप्त गिरीले अहिले पनि पर्यटन व्यवसाय शून्यकै अवस्थामा रहेको बताए । सातामा २÷३ दिन जति थोरै मात्रामा आन्तरिक र पीसीआर परीक्षण गरेर हवाई मार्गबाट केही भारतीय पर्यटक आउने बाँकी दिन होटेल सुनसानप्रायः रहने गरेको उनको भनाइ छ । विदेशी पर्यटकको आगमन नबढ्दासम्म होटेल, रेस्टुराँजस्ता नाफामा जान नसक्ने उनले बताए ।

व्यवसायीलाई थप घाटामा जान नदिन बोर्डरमै पीसीआर परीक्षण गरेर भारतीय पर्यटकलाई उनीहरूकै गाडीसहित नेपाल आउन सक्ने व्यवस्था गर्नुपर्ने र अन्य देशबाट आउने पर्यटकका हकमा समेत खोप लगाइसकेकाहरूलाई सहज प्रवेश दिनुपर्ने उनले सुझाव दिए ।

नेपालमा हाल पर्यटन व्यवसायमा आबद्ध १० लाखदेखि १५ लाखले रोजगारी गुमाएको सरकारी तथ्यांक छ ।

पोखरामा पर्यटकको बढी चहलपहल हुने फेवाताल, लेकसाइड, गुप्तेश्वर गुफा, पातले छाँगो, विन्ध्यवासिनीलगायत क्षेत्रमा समेत विदेशी पर्यटक नहुँदा व्यवसाय ५० प्रतिशतसम्म घटेको व्यापारीहरू बताउँछन् ।

पातले छाँगो बाहिर नेपाली हस्तकलाको व्यापार गर्ने सरु पोखरेलले बन्दाबन्दीपछि बजार खुलेपछि हालसम्म सामान किन्न आउने विदेशी अनुहार नदेखिएको बताइन् । ‘यस्ता सामान नेपालीभन्दा विदेशी पर्यटकले नै किन्ने गर्थे, अहिले त विदेशी आएका छैनन्,’ उनले भनिन्, ‘त्यसैले पसल खोल्ने र बस्ने काम मात्र भएको छ ।’ उनका अनुसार यति बेला पोखरामा हस्तकलाका सामग्रीको व्यापार ७५ प्रतिशतले घटेको छ ।

त्यसैगरी विदेशी पर्यटक नहुँदा पर्यटक बोक्ने ३० प्रतिशत बसले मात्रै काम पाएका छन् । त्रिथुंगा ट्राभल एजेन्सी पोखराका अनुसार नेपाल र भारतबाहेक तेस्रो मुलुकका पर्यटकको अभावमा पर्यटक बोक्ने बसले काम पाउन सकेका छैनन् । बस नचल्दा ४० जना चालकलाई बिदा गरिसकिएको कम्पनीले बताएको छ ।

अभियान दैनिकबाट

प्रतिक्रिया