प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।
सभामुख सापकोटाले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन सर्वोच्च अदालतले बदर गरी फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।
पुनर्स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बसेको थिएन ।
यद्यपी मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया