खुलामाञ्चमा फेरी डोजर चल्यो

नेपालखोज २०७७ चैत २ गते १२:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फेरी डोजर चलाएको छ ।

महानगरपालिकाले सोमबार बिहान खुलामाञ्चमा डोजर चलाएर थप संरचना भत्काइ दिएको छ ।
यसअघि गत फागुन ५ गते खुलामञ्चलाई खुला गर्ने अभियान थालेको महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको थियो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने अभियानलाई महानगरपालिकाले निरन्तरता दिएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए ।
सापकोटाका अनुसार आज खुलामञ्चमा पुनर्निर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरिपरीको वार भत्काइएको छ भने त्यहाको अस्थायी संरचना पनि छिट्टै भत्काएर खुलामञ्चलाई पुरै खुला गरिने छ ।

यसैगरी अस्थायी बसपार्कलाई पनि अन्तै व्यवस्थापन गर्ने तयारी भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्थायी बसपार्कलाई अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई खुला गर्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया