ओली–नेपाल पक्ष वार्ता : नेपाल पक्षले भन्यो–२८ गतेको निर्णय मान्दैनौं

नेपालखोज २०७७ चैत २ गते १४:०२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा छलफल सकारात्मक भएको नेपाल पक्षका नेता रघुजी पन्तले बताए ।

गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरित गरेका निर्णय आफस्हरुले नमान्ने जानकारी बैठकमा गराएको नेपाल पक्षका नेता पन्तले जानकारी दिए । वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा राखेको नेता रघुजी पन्तले बताए ।

अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए ।

गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए ।

उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले अध्यक्ष ओलीलाई जानकारी गराएको पन्तले बताए ।

त्यस्तै आइतबार साँझ मात्रै नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर ओली दक्षिणपन्थी विसर्जनवादी भएको गम्भीर आरोप लगाएका थिए ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।

प्रतिक्रिया