सोमबार, वैशाख १५, २०८२

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

नेपालखोज २०७७ चैत २ गते १४:३८

एजेन्सी । युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमवारदेखि संसदका लागि मतदान शुरु भएको छ ।

कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ ।

कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्पसमेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमवार बिहान ७।३० बजेदेखि मतदान स्थल खुला गरिएको छ । कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमवार र मंगलवार मतदानको व्यवस्था मिलाइएको छ भने बुधवार सबैलाई मतदान गर्ने अवसर दिइएको छ ।

एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् ।

मतदान अघि आइतवार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कर्फ्यू लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।

तर सन् २०१० देखि सत्तामा रहेका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ । यो विजयपछि उनले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउने छन् ।

पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् ।

नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ ।

गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४।३० बजेसम्म लगाइएको कर्फ्यू मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिएका छन् ।

सन् २०१७ को चुनावमा अति–दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ ।

ब्रेक्जिट र ट्रम्प दुबै विषय अहिले ओझेलमा परेकाले विल्डर्सको दलले प्रधानमन्त्री रुटलाई विस्थापित गर्ने सम्भावना कमजोर भएको छ ।

“अहिलेकै सरकार लोकप्रिय छ, र प्रधानमन्त्री रुटको लोकप्रियता घटेको छैन,” विल्डर्सले एक अन्तर्वार्तामा स्वीकार गरेका छन् ।

प्रतिक्रिया