सत्ता समीकरणबारे कुनै निर्णय भएको छैन : जसपा नेता राई

काठमाडौँ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सोमबारको बैठकमा सत्तासमीकरणको विषयमा छलफल नभएको बताए । पार्टी कार्यालय बालकुमारीमा शीर्ष नेताको बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए।
बैठकमा सत्ता समीकरणको विषयमा छलफल नभएर समायोजन हुन बाँकी पार्टीका कमिटीको बारेमा छलफल भएको वरिष्ठ नेता राईले बताए । ‘पाँच गतेको कार्यकारिणी समिति बैठकको तयारीको सिलसिलामा हामी बसेका थियौं । आज सत्तासमीकरणको विषयमा कुनै छलफल भएन । खासगरी पार्टीमा केन्द्रदेखि तल्लातहका कमिटीको समायोजनको काम वाँकी छ । त्यो टुंगाउनेबारे छलफल भयो । भोलि फेरि बैठक बसेर समायोजन गर्ने काम हुन्छ । र, पर्सि बस्ने कार्यकारिणी बैठकका लागि प्रस्ताव तयार हुन्छ,’ राईले भने । सत्तासमीकरणबारे केन्द्रीय कार्यकारिणी बैठकबाट नै निर्णय हुने उनको भनाइ छ । जसपाले चैत्र ५ गते केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।
सरकार गठनका लागि संसदमा जसपा निर्णायक बनेको छ । जसपाले आफ्ना माग र नयाँ सरकार गठनका विषयमा सत्तारुढ एमाले, प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्रसँग छलफल गरेको थियो।

प्रतिक्रिया