वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै, बाघ र गैँडाको आक्रमणबाट फागुनमा तीनको मृत्यु

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गएको फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव-वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनुका साथै चार जना घाइते भएका छन् ।
चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट ज्यान गएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।
त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका-६ नौलोबाँस इलाका सामुदायिक वनमा भैँसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परि निधन भएको छ । बर्दियाकै मधुवन नगरपालिका-३ भगडैयामा रहेको राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ।
चितवन, बर्दिया र कोशीटप्पुु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परि घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिका-७ का मङ्गलबहादुर कुँवर र रत्ननगर नगरपालिका-७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका-१ का सरोज कार्की बाघको आक्रमणमा परि घाइते भएको सेनाले जनाएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका-११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते बनाएको थियो ।
यस्तै चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुुई घोरल तथा एकरएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मरेका सेनाले जनाएको छ ।
यस अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकरएक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुुई/दुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकरएक रतुवा र चरीबाघ गाडीको ठक्कर र जङ्गली कुकुरको आक्रमणबाट मारिएको सेनाले जनाएको छ ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।

प्रतिक्रिया