ओलीले तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

नेपालखोज २०७७ चैत ३ गते १५:१९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार बिहान बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिएका छन्।

सर्वोच्च अदालतले नै कदम असंवैधानिक ठहर गरिदिएकाले तत्काल अविश्वासको प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्री ओलीले नै तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निर्णय रहेको छ ।

त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णयसमेत गरेको छ । त्यस्तै माओवादीका ६ जना सांसद अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेस गर्न पत्राचार गर्ने निर्णय भएको प्रमुख सचेतक गुरुङले बताए।

बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय गरेको छ । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थियो ।

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि तीन सदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक गुरुङ संयोजक रहने समितिको सदस्यमा रामनारायण बिडारी र रेखा शर्मा रहने माओवादी नेतृ पम्फा भुसालले उज्यालोलाई जानकारी दिए ।

प्रतिक्रिया