एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले आगामी ३ महिनाको कार्यदिशा बनाउने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने भएको छ ।
ललितपुरको सानेपामा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।
बुधवारदेखि प्रारम्भ भएको भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिँदैछ । १० वटै समुहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।
वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफुहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

प्रतिक्रिया