ओलीमाथि माधव पक्षको आरोपको चाङ
काठमाडौं । ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंमा भइरहेको सो राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्ने प्रायः सबै जसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाए ।
उद्घाटन सत्र सकेर सुरु भएको बन्दसत्रमा अवधारणापत्र पेस गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टी एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको दाबी गरे । अवधारणापत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ ।
‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पु-यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउनुभयो,’ अवधारणापत्रमा भनिएको छ ।
एमाले नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र डा. वेदुराम भुसालसहितको पाँच सदस्यीय कार्यदलले अवधारणापत्र तयार गरेको बताइएको छ ।
७० वर्षमा कम्युनिस्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धिको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ–नयाँ क्षितिज उघार्दै अघि बढ्न पर्याप्त सम्भावना रहेको विषयलाई समेत अवधारणापत्रमा उल्लेख गरिएको छ ।
राष्ट्रिय भेलामा सहभागी नेताको १० वटा समूह बनाएर समूहगत छलफल भइरहेको छ । वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा छलफल हुने र समूहका नेताले सुझाव प्रस्तुत गर्ने बताइएको छ । जनवर्गीय संगठन र पेसागत संगठन, पूर्वसांसद– पूर्वकेन्द्रीय सदस्यहरू–केन्द्रीय निकाय तथा विभागहरू, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी समूहहरूको विभाजन गरिएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् ।
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजनतर्फ लैजान लागेको आरोप लगाए । खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रूपले अघि बढ्ने पहल कदमी लिनुपर्नेमा प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधानविपरीत निर्णय गरेको आरोप लगाए ।
एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीको समूहले २८ फागुनमा गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताइन् । भेलालाई सम्बोधन गर्दै उनले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताउँदै भनिन्, ‘फागुन २८ को भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन । त्यसलाई नसच्याएसम्म कुनै छलफल हुन सक्दैन् ।’
ओलीइतरका नेताहरूको सहभागिता रहेको सो भेलामा वरिष्ठ एवं अग्रज नेताहरूको विशेष सहभागिता रहेको छ । कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरू कमल कोइराला, मोहनचन्द्र अधिकारी, केशव पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृतलाल बोहोरालगायतको विशेष सहभागिता रहेको छ ।
प्रतिक्रिया