शनिबार, वैशाख १५, २०८१

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य : अध्यादेशबाटै बजेट ल्याइने, विपक्षी आक्रोशित

नेपालखोज २०७८ साउन १ गते ८:४५

काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन पनि मध्यराति नै अन्त्य गरिएको छ ।

बजेट पारित हुन नसकेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सभाबाट बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल हिजोको संसद बैठक छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि आज दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।

यद्यपि सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

यो कदमलाई विपक्षी दलका नेताहरुले सरकारले गरेको ‘राजनीतिक बेइमानी’ भनेर टिप्पणी गरेका छन् । सहमतिका लागि दलहरुबीच छलफल गर्न भन्दै समय मागेको सत्ता पक्षले मध्यरातमा चालु अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको विपक्षी दलहरुको भनाइ छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा प्रकृयामा गइसकेको वजेटलाई अलपत्र पारेर मध्यरातमा अधिवेशन अन्त्य गराउनु सरकारको पराजित मानसिकता भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया