शुक्रबार, चैत १६, २०८०

बाबुको व्यावसायिक बिँडो थाम्दै छोराहरु

नेपालखोज २०७७ चैत ५ गते १०:४०


काठमाडौं । युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आए । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहेका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढेका छन् ।

बुबा नारायणप्रसाद गौतमले विसं २०२७ मा शुरु गरेका किराना व्यवसायबाट बिस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ । अहिले किरानाबाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ । यी व्यवसायलाई छोरा गौतमले साथ दिँदै आएका छन् ।

चितवनका युवा व्यवसायी गौतम भन्छन्, “मैले सानै उमेरदेखि बुबालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु ।” उनले बाबुले शुरुआत गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताए । उनले भने, “शुरुवात बुबाले गरे, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो ।” बुबाको भन्दा फरक व्यवसाय गर्नुपरेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उनको भनाइ छ । कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उनीहरुको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरि बिक्री वितरण हुने गरेको छ ।

विसं २०४३ सालमा नारायणगढ बजारमा खाजा घरका रूपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भइसकेको छ । विष्णुप्रसाद सापकोटाले शुरु गरेको यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लएका छन् । गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लागेका हुन् । बुबाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहेका छन् ।

उनले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रित भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि विस्तार भएको छ । शाकाहारी भोजनालय र मिठाईका लागि ख्याति कमाएको वैष्णवले अहिले प्याकिङ मिठाई उत्पादन शुरु गरेको छ । नमकिन, सोनपापडी, रसवरी, लालमोहनजस्ता मिठाई उत्पादन गरी देशका प्रमुख शहरसम्म पुर्याइएको छ । कृष्णले भने “अहिले हामीले मिठाईलाई देशैभरि पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौँ ।” बाबुको मिहिनेतसँगै स्थापना भएको वैष्णव ब्राण्डलाई कृष्णले देशव्यापी बनाउन सफल भएका छन् । बुबाकै कारण आफूलाई व्यवसाय बिस्तारमा सहज भएको उनको भनाइ छ ।

विसं २०३६ मा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय शुरु गर्नुभएका ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आएका छन् । आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले विसं २०५५ यता नेतृत्व गरेर बाबुको पेशा सम्हालेको बताए ।

लामिछाने विद्युत् सप्लायर्सका नामबाट शुरु भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसायमा लगानीसमेत गरेका छन् । आशिर्वाद समूहका पार्ट्स, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उनको लगानी छ । उनले भने, “सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ ।” बाबुले शुरु गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उहाँको भनाइ छ । लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरि पुग्ने गरेको छ ।

चितवनमा ख्याति कमाएको कर्मा रेष्टुराँको सञ्जाल विस्तार भइरहेको छ । बाबु दुर्गादत्त अधिकारीले नारायणगढमा शुरु गरेको व्यवसाय छोरा अमित र अविनाशले विस्तार गरिरहेका छन् । अहिले काठमाडौँको चाबहिल र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ । केही दिनभित्रै भरतपुरमा अर्को शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ ।

सौराहामा होटल व्यवसाय गर्दै आएका सुमन घिमिरे बाबु हरिक्तभक्त घिमिरेले शुरु गरेको व्यवसायलाई विस्तार गरेर अगाडि बढाएका हुन् । उनले भने, “बुबाले शुरु गर्नुभएका कारण आफूले धेरै मिहिनेत गर्नुपरेन ।” युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रियरूपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ । जङ्गल सफारी लजको नाममा सञ्चालित होटल अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ बन्ने गरेको छ । उनले भने, “सेवाग्राहीको चाहनाअनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबुबाजेको पेशा नअँगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अङ्गाल्दै आएको बताए । कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समयसापेक्ष परिष्कृत गर्दै अँगाल्नेलाई सफलता मिलेको उनको भनाइ छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल बाबुले गर्दै आएको व्यवसाय छोराहरुले सम्हाल्दै आएको बताउँछन् । बाबुको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उनले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राखे ।

प्रतिक्रिया