नेपाल–भारत यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

नेपालखोज २०७७ चैत ५ गते १४:०२

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्न मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल–भारत यातायताका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाई छ ।

बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल–भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसी सचिव खगराज बरालले बताए ।

प्रतिक्रिया