नेपाल समुहको भेला पनि आजै

नेपालखोज २०७७ चैत ६ गते १०:३८


काठमाडौं । नेकपा एमालेभित्र अन्तर–संघर्ष तीव्र बनिरहेका बेला आज वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा प्रदेश २ का केन्द्रीय सदस्यको बैठक बस्दै छ ।


ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राखिएको हो । नेकपा एमाले सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले अहिले बिहान ११ बजे प्रदेश २ का केन्द्रीय सदस्यको बैठक नेता नेपालको निवासमा बस्न लागेको जानकारी दिनुभयो ।


नेकपा हुँदा प्रचण्ड पक्षमा रहेका माधव नेपाल–खनाल पक्षबीच सर्वोच्वले एमाले ब्युउत्याइदिएपछि विवाद झन् चर्काे बनेको हो । एमाले अध्यक्ष ओलीले पार्टी पुनर्स्थापना हुनासाथ गत फागुन २८ गते आफ्ना पक्षका केन्द्रीय सदस्यलाई मात्र बोालाएर एकैदिन दुइटा बैठक गरी नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेपछि विवाद तीव्र बनेको छ ।


त्यो निर्णय अवैधानिक भन्दै विरोधमा उत्रिएको नेपाल–खनाल पक्षले हिजो मात्र ललितपुरमा २ दिनको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ भने १७ बुँदे प्रस्ताव पारित गर्दै २०७५ जेठ २ कै अर्थात् माओवादीसँग एकीकरण हुनुअघिकै अवस्थामा एमाले फर्काउने उद्घोष गरेको छ । 
यस्तै, नेकपा एमालेको माधव–झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ । आज दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने एमाले बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जाकारी दिनु भयो । पार्टीभित्र विकिसत घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको शाक्यको भनाइ छ ।


माधव–झलनाथ समूहले हिजो मात्रै आफू पक्षीय कार्यकर्ताको दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै उक्त समूहले समानान्तर गतिविधि अघि बढाएको छ ।

प्रतिक्रिया