नेपाल सुपर लिग’को खेलाडी अक्सन आजबाट
‘
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को खेलाडी अक्सन आज हुँदैछ । आगामी वैशाखमा आयोजना हुन गइरहेको प्रतियोगिताका लागि अक्सन हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणी गरी कुल एक सय ५८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । यसअघि लिगको टिम र टिम मालिकको घोषणा भइसकेको थियो ।
आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एक कार्यक्रम गरि देशका सात सहरको नामबाट सात टिम र टिम मालिक सार्वजनिक गरेको हो । इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
अक्सनमा समावेश हुने एक सय ५८ जना मध्ये राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ‘ए’ श्रेणीमा समावेश छन् भने ६५ जना ‘बी’ श्रेणीमा छन् । यस्तै ‘सी’ श्रेणीमा ५८ जना खेलाडी रहेका छन् ।
वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ । प्रतियोगिता ‘सिङ्गल राउन्ड रोविन लिग’ का आधारमा खेलाइने एन्फाले जनाएको छ ।
प्रतिक्रिया