बालबालिका सम्बन्धी १० वर्षे रणनीति तयारीका लागि कार्यशाला आयोजना

काठमाडौं । बालबालिका सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीतिक कार्ययोजनामा समावेश गर्ने गरी मस्यौदा निर्माणका लागि शनिबारबाट काठमाडौंमा दुई दिने राष्ट्रिय कार्यशाला शुरु भएको छ ।
बालबालिकाको अधिकार संरक्षणका लागि ऐकवद्धता स्वरुप हस्ताक्षर गर्दै कार्यशालाको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलिकुमारी महतोले गरिन। उद्घाटनका क्रममा मन्त्री महतोले सबै क्षेत्रका बालबालिकालाई समेट्ने गरी मस्यौदा तयार पार्न सहभागीहरुलाई आग्रह गरिन । ‘बालबालिका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् साथै विभिन्न अवस्थाका छन् । यो कार्यशालाबाट ती सबैलाई समेट्ने गरी रचनात्मक र सकारात्मक सुझाव सहितको मस्यौदा तयार पार्नुपर्नेछ’ मन्त्री महतोले बताइन ।
उनले बालबालिकाको विषयलाई संविधानमा नै उल्लेख गरिएको बताउँदै यसको कार्यान्वयनका लागि राज्यस्तरबाट भैरहेका कामहरु बारे पनि अवगत गराइन । ‘राष्ट्रिय बालप्रतिभा पुरस्कारको घोषणा भैसकेको छ । देशभरका प्रतिभावान १० बालबालिकालाई यो पुरस्कारबाट पुरस्कृत गरिनेछ’ उनको भनाइ थियो । कार्यशालाबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्दै यसलाई प्रधानमन्त्री समक्षसमेत पेश गरिने उनले प्रतिवद्धता जनाइन ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले राज्यस्तरबाट गरिनु पर्ने तयारीमा नागरिकको सहभागिता रहनु प्रशंसनीय रहेको भन्दै कार्यशालाबाट आएका सुझावलाई राष्ट्रिय रणनीतिमा समावेश गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सरकारको सहयोगीका रुपमा रहेर नीतिनिर्माण तहमा सघाउ पुर्याउन कार्यशाला आयोजना गरिएको बताए । गैह्रसरकारी संस्था सरकारको प्रतिष्पर्धि नभई सहयोगी भएकाले सहकार्यको नेतृत्व लिई कार्यशाला आयोजना गरिएको र यसले नीति निर्माणमा सघाउ पुर्याउने अध्यक्ष थापाको भनाइ थियो ।
‘जसको सबाल उसको सहभागिता’ भन्ने नारा सहित आयोजित सो कार्यशालामा सातै प्रदेशलाई समेट्ने गरी ६० जिल्लाका १०३ बालबालिकाको सहभागिता रहेको छ । बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थासँगको सहकार्यमा कन्सोर्टियम नेपालले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा एसिड आक्रमण विरुद्धकी अभियन्ता मुस्कान खातुनलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया