मंगलबार, वैशाख १६, २०८२

जर्मनीमा आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने सङ्केत

नेपालखोज २०७७ चैत ८ गते २१:४०

बर्लिन । यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् ।

विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायहरूलाई लागु गर्ने अनुमान अधिकारीहरूले गरेका हुन् ।जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै क्रमशः अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो ।

जर्मनीमा तेस्रो लहरको सङ्क्रमण फैलिएपछि उद्योग तथा व्यवसायलाई बन्द गर्ने तयारी गरिरहेको अधिकारीहरूले शनिबार र आइतबार गरेका छलफलका क्रममा बुझिएको हो । यद्यपि मर्केलले यस बिषयमा अन्तिम निर्णय लिनुपूर्व सोमबार क्षेत्रीय सरकार प्रमुखहरूसँग भेट गर्ने बताए ।आइतबार सार्वजनिक तथ्याङकमा विगत सात दिनमा जर्मनीमा प्रति एक लाख जनसङ्ख्यामा १०३ व्यक्ति सङ्क्रमित दर भेटिएको बताइएको छ ।

यसैबीच यूरोपका अन्य दुई मुलुक फ्रान्स र पोल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागु भएको छ । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आंशिक लकडाउन लागु गरिएको हो । राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लकडाउन लागु भएको हो । यसबाट दुई करोड १० लाख मानिस प्रभावित भएका छन् ।

प्रतिक्रिया