‘फास्ट ट्र्याक’ उजुरी सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन

नेपालखोज २०७७ चैत ९ गते १९:०७

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याक द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहेका छन ।

उपसमितिलाई दोस्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुङ्गमती खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमी कमजोरी र समयमै निर्माण सम्पन्न हुने–नहुनेबारे पनि सुक्ष्म ढङ्गले अध्ययन गर्न भनिएको छ ।

काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोस्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरीपछि समितिले त्यसतर्फ चासो देखाएको हो । छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढङ्गले गरिरहेको दाबी गरेका थिए । उनले दुई वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वइन्ट भेन्चरमा नेपाली कम्पनीहरू पनि सहभागी भएको स्पष्ट पारे ।

उनले भने, ‘स्वदेशीहरू सबैको ज्वइन्ट भेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरूसँग पैसा नभएको हुन सक्छ । बैंक ग्यारेण्टी नभएको हुन सक्छ । तर अहिले विदेशी कम्पनीहरूसँग हाम्रो नेपाली दाजुभाइ ठेकेदार साबहरूले ज्वइन्ट भेन्चरमा आउनुभएको छ । सबैभन्दा ठूलो सङ्ख्यात्मक रूपमा उहाँहरूसँग मिसिएर आउनुभएको छ । हामीसँग यसको प्रमाण पनि छ ।’

उनले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समूहहरू धेरै भएको र नसकेपछि उनीहरूले अरू ठाउँमा प्रयास गरेको बताए । उनले भने, ‘हाम्रो इन्फ्लुयन्सी ग्रुपहरू धेरै हुन्छ । हजुरहरूलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरू ठाउँमा पार्न सक्नु हुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पीपीएमओ पीपीआरसीमा उजुरी दिनुपर्थ्यो । अड्काउन सजिलो छ । फुकाउन गाह्रो छ ।’

छलफलका क्रममा सांसदहरूले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले दुर्गमार्गको विषयमा बुङ्गमती खोकनाको विषय मिलाउनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया